काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता संघीय चुनावको मिति घोषणा हुने बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले संघ र प्रदेशको निर्वाचनको मितिबारे साउन ४-५ गते बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय लिने बताएका हुन् ।
त्यसैगरी उनले चुनाव केन्द्रित हुन कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । ‘अब इलेक्सनको मोडमा जाने बेला भएको छ । मतदातालाई नाम लेखाउन सहजीकरण गर्ने काममा तपाईंहरू लाग्नुस् ।’, उनले भने ।
महामन्त्री थापाले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । विधेयक फिर्ता लिने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेको उनको भनाइ छ । उनले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयक आज–भोलि नै फिर्ता हुने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य। अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए ।




प्रतिक्रिया