काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले काठमाण्डु क्षेत्र नम्बर ४ मा स्थायी कमिटी सदस्य डा. राजन भट्टराईलाई उठाएको छ । एमालेका अर्का नेता निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता लिएपछि काठमाण्डु क्षेत्र नम्बर.४ मा भट्टराईको नाम सर्वसम्मतले सिफारिस भएको हो ।
बुधबार क्षेत्रीय कमिटी बैठकमा एमाले काठमाण्डुका पूर्वअध्यक्ष कुइँकेलले पनि आफ्नो दाबी पेस गरेका थिए । तर, कुइँकेलले आफ्नो दावी फिर्ता लिएपछि अब संघीय निर्वाचन अन्तर्गत कांग्रेस महामन्त्री थापासँग नेकपा एमालेको तर्फबाट भट्टराईले प्रतिस्पर्धा गर्नेछन् । गगनले यस पटक पनि काठमाण्डु ४ बाटै उठ्ने निर्णय लिएका छन् । उनको नामबारे अन्य क्षेत्रमा चले पनि तर आफूले काठमाण्डु ४ नछाड्ने थापाले बताइसकेका छन् ।
नेकपा एमालेबाट सिफारिस भएका डा. भट्टराई दोस्रोपटक गगन थापासँग चुनावी मैदानमा उत्रिने भएका छन् । भट्टराई यसअघि २०७४ को आमनिर्वाचनमा थापासँगै पराजित भएका थिए । भट्टराई अहिले एमालेको विदेश विभाग प्रमुख हुन् । त्यसबेला गगनले २१ हजार ५५८ मत ल्याएका थिए। थापासँग पराजित डा. भट्टराईले १८ हजार १४० मत ल्याउन सफल भएका थिए ।
गत बैशाख ३० गते भएको स्थानीय तहको मत परिमाण अनुसार काठमाण्डु ४ मा नेकपा एमाले बलियो देखिएको छ । काठमाण्डु ४ अन्तर्गत स्थानीय तहको चुनावमा बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामध्ये सबैमा एमालेका उम्मेदवार विजयी भएका छन् । बूढानीलकण्ठ नगरपालिका भट्टराईको क्षेत्रसमेत हो ।
स्थानीय तह निर्वाचनमा वडा तहमा आएको मतका आधारमा एमाले सबै भन्दा अग्र स्थानमा छ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले १६ हजार ५०७ मत ल्याउन सफल भएको छ । त्यस्तै कांग्रेस १५ हजार ७६३ मतका साथ दोस्रो स्थानमा छ भने नेकपा एसको २४२१ र माओवादीको ११६८ मत ल्याएका छन् ।
स्थानीय तहको निर्वाचनको मतका आधारमा गगन थापालाई यस वर्ष चुनाव जित्न सहज छैन् । तर, सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेल गरेको खण्डमा भने थापाको जित हुने पक्का पक्की नै देखिएको छ ।




प्रतिक्रिया