काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस ८ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् ।
राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने बताएका हुन् ।
८ दलले ५ वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो, उनले भने । कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभाष दिन प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताए ।
महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको समेत बताए । पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान व्यक्ति भएको भन्दै उनले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताए ।
उनले उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् बिस्तारको काम अघि बढ्ने समेत बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गर्नुभएको उनको भनाइ छ ।




प्रतिक्रिया