काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका कार्यकर्तालाई पार्टीको उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । चितवनको कालिकानगरमा सोमबार आयोजित उपचुनाव लक्षित सभामा बोल्दै थापाले अघिल्लो चुनावमा जस्तो बेइमानी नगरि पार्टीले उठाएको उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् ।
गत मंसिर ४ गते भएको संघीय निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका कार्यकर्ताले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोट दिएको गुनासो गरे । उनले नेपाली कांग्रेसका कार्यकर्तालाई पाँच महिनाको अवधिमा सच्चिने मौका आएको बताए ।
‘गएको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ । तपाईंले अब मान्छे चिन्नुभएको छ। तपाईँहरूले हिजो के गर्नुभयो, के कारणले गर्दा गर्नुभयो, किन गर्नुभयो भन्ने सबै कुरालाई बिर्सिएर म नेपाली कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु। । पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान्। यथोचित समयमा बसेर छलफल गरौंला तर अहिले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट छैन।’, महामन्त्री थापाले भने ।
उनले गत मंसिरमा भएको चुनावमा जस्तै बाहिर बाहिर रुख भन्दै हिँडेर चुनावको दिन अन्य पार्टीको उम्मेदवारलाई भोट नदिन कार्यकर्तालाई चेतावनीसमेत दिए । कसैले मतदान गर्न नसक्ने भए स्पष्ट भन्नुपर्ने उनको भनाइ छ ।
‘एक जना पनि कांग्रेसको साथीले दायाँबायाँ तलमाथि गर्नुभयो भने मैले सधैं भन्दै आएको छु । म भगवानमा विश्वास गर्ने मान्छे हुँ । मनमा जसको हरि छ,अरूले नदेखे पनि हरिले देखेको हुन्छ।’ थापाले भने, ‘बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ।’, महामन्त्री थापाले भने ।
वैशाख १० गते हुन लागेको उपचुनाव हुने चितवन २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।




प्रतिक्रिया