गगनको सम्झनामा नेम्वाङ : ‘मैले बोल्ने बोली र लगाउने लुगा राम्रो भएन भन्नुभएको थियो’


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले अभिभावक गुमाएको महसूस भएको बताएका छन् ।

नेकपा एमाले पार्टी कार्यालयमा नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनले आफू पहिलोपटक सांसद भएर संसद छिर्दाको पल स्मरण गरे ।

उनले भने, ‘म पहिलोपटक सांसद भएर जाँदै गर्दा मैले बोल्ने बोली र मैले लगाउने लुगा राम्रो भएन, बदल्नु भनेर भन्नुभएको थियो । नयाँ आएका सांसदहरूलाई संसद्को मर्यादा सिकाउनुपर्छ भन्ने सोच भएको व्यक्ति हुनुहुन्थ्यो । अभिभावकत्व गुमाएको महसूस भएको छ ।’

हरेक छलफल र वार्तामा नेम्वाङ हुँदा त्यसले मूर्त रूप पाउँछ भन्ने विश्वास बढ्ने गरेको बताउँदै उनले नेम्वाङ एमालेको मात्रै नभई सबैको साझा नेता भएको बताए ।

उनले भने, ‘कुनै पनि छलफल, वार्ता र संवादमा सुवास नेम्वाङ हुनु भनेको टुंगिने बाटोतर्फ गएको छ भन्ने हामीलाई लाग्ने गर्दथ्यो । एमाले मात्रै होइन, माओवादी, नेपाली कांग्रेस सबैले साझा नेताको रूपमा उहाँलाई सम्झिने गर्छ ।’

नेम्वाङको आँट र दृढ संकल्पले नै संविधान निर्माणले पूर्णता पाएको सम्झिँदै नेता थापाले संविधानमाथि गर्व गर्ने हरेकले नेम्वाङलाई बिर्सन नसक्ने बताए ।

‘२०६२/६३ को आन्दोलनपछि आवश्यक भएको पात्र सुवास नेम्वाङ मात्रै हुनुहुन्थ्यो । संविधान निर्माण गर्ने समयमा पनि दृढ संकल्प बोकेको मानिसको आवश्यकता थियो । जसले यो पटक संविधान बनाउनैपर्ने दबाब थियो । त्यो दबाबलाई थेग्न सक्ने र दृढताका साथ लाग्न सक्ने क्षमता पनि उनमा थियो । त्यस्तो नभएको भए आज नेपालमा संविधान हुने थिएन,’ उनले भने, ‘कसैले संविधान बन्यो भनेर खुशी मनाउँछ भने त्यसले संविधान निर्माणमा सुवास नेम्वाङको भूमिकालाई पनि याद गर्छ भन्ने लाग्छ ।’

गगन नेपाल विद्यार्थी संघको महामन्त्री हुँदा राजद्रोहको मुद्दामा जेल परेका थिए । त्यतिबेला गगनका तर्फबाट बहस गरेर नेम्वाङले नै जेलमुक्त गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement