काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले स्थापना गरेको कोरोना कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न प्रस्ताव गरेका छन् ।
आइतबार साझ मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक उपचार तथा उपकरणको व्यवस्था गर्ने भन्दै ५० करोडको कोष स्थापना गरेको थियो । कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरिएका बेला सांसद थापाले सांसदहरुको एक महिनाको तलब जम्मा गर्न आह्वान गरेका हुन् ।
उनले कोषमा सक्दो सहयोग गर्न ट्वीटरमार्फत आम नागरिकमा आह्वान समेत गरेका छन् । साथै सरकारले यो विपदमा एक जना नागरिकलाई पनि अप्ठ्यारो पर्न नदिनेगरी काम गर्नुपर्ने उनको भनाई छ ।
उनले भनेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं । जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ । संगैमा सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस् ।’




प्रतिक्रिया