काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै दललाई मिलाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरिने बताएका छन् ।
आईतबार कांग्रेस रोल्पाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले नै लडेर यो व्यवस्था ल्याएकाले जोगाउने जिम्मा पनि कांग्रेसको हुने बताए ।
उनले अहिले आफूहरू एमालेसँगको सरकारमा रहेको र अब माओवादी लगायतका दलहरूलाई मिलाएर यो समयको अधिकतम् सदुपयोग गर्ने पक्षमा आफूहरू रहेको बताए ।
उनले भने, ‘हाम्रो यत्रो दुःखबाट यो व्यवस्था ल्याएका छौं । यो व्यवस्थालाई पनि टिकाउँछौं, संविधानलाई पनि टिकाउँछौं, संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि टिकाउँछौं । गणतन्त्र कसैले चलाउन सक्दैन, लोकतन्त्र कसैले चलाउन सक्दैन । यी सबै व्यवस्थालाई जोगाएर अहिले एमालेसँग सरकारमा छौं, माओवादीलाई पनि मिलाउँछौं ।’
उनले सबै पार्टीहरूलाई पनि मिलाएर, सबैसँग सहकार्य गरेर समयको सदुपयोग गर्ने बताए । उनले भने, ‘८० सालदेखि ९० सालको बीचमा ८४ मा एउटा चुनाव आउँछ । ०८४ को चुनाव लडौंला । ०८४ को चुनाव त्यहीबेला चर्चा गरौंला,’ उनले भने, ‘अहिलेको लागि यो समयको अधिकतम् सदुपयोग गर्ने, राष्ट्र निर्माणका निम्ति सबैलाई मिलाएर लिएर जाने कर्तव्य नेपाली कांग्रेस पूरा गर्न चाहन्छ ।’
सबैलाई मिलाएर लैजानका लागि कांग्रेसका कुनै पनि सदस्यले कायर र कमजोर कुरा गर्न नहुने र पलायनको दृष्टिकोण राख्न नहुने उनले बताए ।




प्रतिक्रिया