काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा धर्मनिरपेक्षता लेख्नु हुँदैन भन्ने पक्षमा आफू रहेको खुलासा गरेका छन् ।
काठमाण्डुमा नेपाली कांग्रेसको दोस्रो प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले संविधान लेख्दै गर्दा आफ्नो मत धर्मनिरपेक्षताको पक्षमा नभई धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् ।
‘संविधान लेख्दै गर्दा धर्मनिरपेक्षता लेख्नु हुँदैन, संविधानमा धार्मिक स्वतन्त्रता लेख्नुपर्छ भन्ने मेरो मत थियो,’ थापाले भने, ‘मेरो लिखित मत के थियो भने नेपाललाई धार्मिक स्वतन्त्रता भएको देश बनाउनुपर्छ, जहाँ फरक–फरक धर्मको अभ्यास गर्न सकिन्छ ।’
उनले संविधान बनाउने विषयमा धेरै कुरामा सम्झौता गर्नु परेको पनि बताए । यद्यपि आधारभूत कुरामा भने सम्झौता नगरेको उनको भनाइ थियो ।
‘संविधान लेख्दै गर्दा हामीले यसरी नै थुप्रै विषयमा सम्झौता गरेका हुन्छौं,’ थापाले भने, ‘तर, यो भन्दै गर्दा हामीले हाम्रा आधारभूत कुरामा सम्झौता गरेनौं ।’




प्रतिक्रिया