कानुन बनाएर सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न जेनजीलाई गगनको आग्रह

कानुन बनाएर सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न जेनजीलाई गगनको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रसका महामन्त्री गगन थापाले अब बन्ने नयाँ सरकारले तत्काल कानुन बनाएर एउटा शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन् ।

आन्दोलन पश्चात मौन बसेका थापाले आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत १५ मिनेट लामो भिडियो शेयर गर्दै यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनपछि बनाएर देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको समाधान चाँडो निस्कीयोस् भन्दै उनले जेनजीहरुलाई एक पटक आफ्नो भिडियो सुनिदिन पनि आग्रह गरेका छन् ।

बिहीबार भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘पहिला त म भाद्र २३ गते जुन १९ जना युथहरूको हत्या भयो। म त्यसको लागि म प्रत्यक्ष रूपमा इन्भल्भ छैन, तर पनि म माफी माग्छु। त्यो अपराध थियो। यो भनिरहँदै गर्दा मलाई चिच्याउन मन लाग्छ। किनकि जुन दिन सोसल मिडिया ब्यान्ड गर्ने निर्णय गरियो, म त्यो दिन दौडेर मेरो सभापतिकहाँ गएको थिएँ। र, त्यो दिन बिहान भनेको थिएँ( युथहरू हामीसँग एकदमै नराम्ररी रिसाएको छ, जेन्युन कारण छ, यति धेरै आगो बलेको छ, आगोमा घाउ थप्ने काम नगर्नुस्, गर्दै नगर्नुस्। बैठकमा बोलेँ भएन, बाहिर आएर लेखेँ, प्रेसमा दिएँ। हामी सबै मिलेर दबाब सिर्जना गर्‍यौँ भएन। सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला। अहिले सोच्दै गर्दा जसरी पनि रोक्न सक्नुपर्थ्यो भन्ने लाग्छ। त्यो नगर, नगर भनियो, आखिर भयो।’

उनले सरकार निर्माणमा सहभागी हुन, जेनजी आन्दोलनको क्रममा भएको हत्या र विध्वंशात्मक प्रदर्शनको छानबिन गरी दोषीमाथि कारबाही गर्न, बलियो कानुन निर्माण गरेर २०४६ यता सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरेका छन्।

दोस्रो दिनको विध्वंशात्मक प्रदर्शनमा जेनजीको कुनै संलग्नता नरहेकोमा आफू स्पष्ट रहेको भन्दै महामन्त्री थापाले कतिपय नयाँ र कतिपय पुरानै अनुहारहरूको संलग्नता रहेको बताए।