काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशन रोक्ने काम भए विशेष महाधिवेशन हुनसक्ने चेतावनी दिएका छन् ।
महमन्त्री थापाले महाधिवेशन रोक्ने खेल भए विशेष महाधिवेशन माग फेरि उठ्ने चेतावनी दिए ।
काठमाण्डुमा सोमबार आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाटमा उनले भने, ‘असोजमा बैठक हुँदा महाधिवेशन गरौँ भन्दा नेताहरु मान्नु भएन, अहिले महाधिवेशन भइसक्थ्यो, अहिले फेरि महाधिवेशन हुनसक्दैन भन्नु सफा बाटोमा पानी खन्याएर बनाए र फोहोर भयो भनेजस्तै हो ।’
उनले भने, ‘पार्टी महाधिवेशन नयाँ नेतृत्व मात्रै होइन, पार्टी नै नयाँ भएर आएको छ भन्ने सन्देश दिन पनि महाधिवेशन जरुरी छ, तपाईंहरुको भावना बुझेर बदलिएर आएका छौँ र कांग्रेसले देश बदल्छ भन्ने अठोटमा जनतालाई विश्वस्त गर्न सकिन्छ ।’
१५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै उनले महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए उनले महाधिवेशन निर्वाचनअघि नै गर्न जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए।
उनले भने, ‘म अहिले पार्टीको सभापतिको १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु। अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने समय पनि हो।’ थापाले नयाँ नेतृत्व लिएर मात्र चुनावमा जाने पनि बताए ।
‘कांग्रेस भएका कुरामा हामी गौरव गरौँ, कतिपय काम चित्त बुझ्दैन तर कांग्रेस राष्ट्रिय शक्ति भएकाले देश सम्हाल्न सक्ने हुनुपर्छ,’ उनले भने, ‘हिजो हिंसामा देश हामीले सम्हालेको हो । आज चुनावबारे संशय छ । यो सन्दर्भमा फागुन २१ गतेका लागि चुनाव अपरिहार्य छ ।’
थापाले कांग्रेसको आन्तरिक विषयसँग चुनाव जोडिन नहुने बताए । संविधानलाई लिकमा फर्काउन चुनाव अनिवार्य भएको उनको भनाइ छ । ‘नेपालमा १५ सालमा संसद आउँदा ५–५ वर्षमा निर्वाचन हुने वातावरण नै बनेन,’ उनले भने, ‘४८ सालपछि निर्वाचनमा अवरोध नै छ । ६४ पछि चुनावको चक्र शुरु हुँदैथियो, फेरि संसद विघटन भएर निर्वाचन घोषणा भएको छ । यसैले अब निर्वाचन हुनैपर्छ ।’
महामन्त्री थापाले भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताए ।
उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद् कालो दिनु को संज्ञा दिँदै भने, ‘सडकमा जनताको आक्रोश पोखिनु स्वभाविक हो । सार्वजनिक पदमा बस्ने व्यक्तिको नैतिकता सबैभन्दा ठूलो कुरा हो ।’
‘राजनीतिक नैतिकता निकै महत्वपूर्ण हुन्छ, म पदमा भएको भए यसको पूर्ण जिम्मेवारी लिन्थेँ,’ उनले भने। ठूलो पदमा बस्नेले नै बढी जिम्मेवारी बोक्नुपर्ने भन्दै उनले तत्कालीन प्रधानमन्त्रीले यसबाट उम्किन नमिल्ने बताए।
थापाले उक्त घटनालगत्तै कांग्रेसले गृहमन्त्रीलाई राजीनामा दिन लगाएर आफ्नो तर्फबाट नैतिकता प्रदर्शन गरेको दाबी समेत गरे। घटनाको प्राविधिक छानबिन आफ्नै ठाउँमा भए पनि सरकारको नेतृत्व गर्नेले नैतिक रूपमा ‘यसको जिम्मा म लिन्छु’ भन्न सक्नुपर्ने उनको भनाइ छ।




प्रतिक्रिया