काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा घेराबन्दीमा परेको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पछिल्लो समय कांग्रेसले प्रक्रिया र विधानलाई बेवास्ता गर्दै आएको आरोप लगाए। संख्याको दम्भ देखाउँदै केही नेताहरूले हामी दुई महामन्त्रीहरूविरुद्ध प्रहार गरिरहेको र सबै मिलेर कर्नर गर्ने प्रयास भइरहेको उनले दाबी गरे ।
थापाले भने, ‘नेपाली कांग्रेसभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निल्दै जाने क्रममा म र अर्को अर्को महामन्त्री विश्वप्रकाश शर्मा दुई जनालाई पार्टीको महामन्त्रीको रूपमा आफ्नो भूमिका निर्वाह गरिरहँदै गर्दा यसलाई कर्नर गर्ने, घेराबन्दी गर्ने, यसका विरुद्ध सबै मिल्ने काम भएको छ।’
उनले पार्टी कार्यालयको घेराबन्दी सानो भए पनि आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको घेरा ठूलो भएकाले अन्ततः आम नागरिकले नै त्यसको छिनोफानो गर्ने जिकिर गरे।
‘संख्याको आधारमा दम्भ देखाएर महामन्त्रीहरूलाई घेराबन्दी गरिएको पनि उनले बताए ।
थापाले राष्ट्रियसभामा एमालेसँग भएको तालमेलको स्वामित्व आफूहरूले नलिने बताए ।
उनले छलफल नै नगरी तालमेलको निर्णय गराइएको भन्दै आपत्ति जनाए । उम्मेदवारी छनोट गर्न बैठक बस्नुभन्दा अघि नै उम्मेदवारहरू मनोनयन पत्र बोकेर दर्ता गर्न गइसकेको उनले बताए । थापाले उनले उम्मेदवार छनोट प्रक्रियामा आफूले फरक मत राखेको बताए ।




प्रतिक्रिया