काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सभापति बन्नका लागि विशेष महाधिवेशनको माग नगरेको दाबी गरेका छन् ।
बुधबार बुद्धिजीवीहरूसँगको छलफलका क्रममा उनले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोइराला वा अन्य कोही पनि नेताहरू सभापति बन्न सक्ने बताए ।
केही नेताहरूले सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको भन्ने आरोप लगाएकोतर्फ संकेत गर्दै उनले आफूहरूलाई सभापति बन्ने चाहना नरहेको बताए । उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताए ।
महामन्त्री थापाले पार्टीलाई ठीक ठाउँमा उभ्याउने आफूहरूको एकमात्र चाहना रहेको बताए । उनले भने, ‘२३ र २४ गतेपछि नेपालका मुख्य–मुख्य पार्टीहरूमा दुई खालका कुरा आए । एउटा हामी नै ठीक थियौं र छौं भन्ने कुरा आयो । बाँकी सबै गलत हुन् भन्ने कुरा आयो । एउटा विचार यो भयो । २३ र २४ गतेअघि हामी ठीक थिएनौं भन्ने कुरा हमीले राख्यौं । हामी उभिएको ठाउँ ठीक थिएन, गतिमति ठीक थिएन । नागरिकको रिस थियो । रिसका कारण छन्, त्यो बुझ्नुपर्छ र त्यसका आधारमा हामीले पार्टीका कार्यक्रम अघि बढाउनुपर्छ । हामीले खास गरेर कारोबारी राजनीतिलाई अन्त्य गरिदिएको छ । प्रिन्सिपल, पर्पसको कुरामा फर्किनुपर्छ । सच्याउनुपर्छ ।’
उनले आफूहरूलाई सभापति बन्ने चाहना नरहेको स्पष्ट पारे । उनले भने, ‘हतारहतार अरुलाई हटाएर सभापति बन्न खोज्यो भन्ने आरोप आयो । हामीलाई सभापति बन्नै छैन बाबा । को बन्नुछ बन्नुस् ! तपाईंहरुमध्ये कुन नेतालाई बन्नुछ बन्नुस् । डा. शेखर कोइरालालाई बन्नुछ बन्नुस् । अर्को नेता बन्नुछ बन्नुस् । तर पार्टीलाई ठीक ठाउँमा उभ्याउनुपर्छ ।’




प्रतिक्रिया