काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको बताएका छन्।
उम्मेदवार छनोटको अन्तिम चरणमा रहेको बताउँदै सभापति थापाले सबैलाई आआफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लाग्न आग्रह गरेका छन्।
‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ’, उनले सामाजिक सञ्जालमा एक भिडियोमार्फत भनेका छन्, ‘भोलि सबैजना आआफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ। यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’
उनले उम्मेदवार चयन प्रक्रियामा विधान र संरचनाका कारण हात बाँधिएको पनि बताएका छन्। टिकट वितरणमा ढिलाइ हुनुको कारण आन्तरिक विवाद, कानुनी झमेला र नेताहरूको असन्तुष्टि रहेको उनको भनाइ छ।
उनले तल्लो तह (कन्स्टिच्युएन्सी)बाटै उम्मेदवार छानिनुपर्ने पक्षमा आफू रहे पनि पार्टीको पुरानो विधानअनुसार १६५ वटै क्षेत्रबाट सिफारिस आइसकेकाले केन्द्रबाट निर्णय गर्नुपरेको बताए। उनले कतिपय स्थानमा दर्जनौँ नाम सिफारिस भएको र कतिपय ठाउँमा नमिलेको अवस्थामा आफू जिम्मेवारीमा आइपुगेको प्रस्ट पारे।
पार्टीभित्रको आन्तरिक विवाद र कानुनी झमेलाका कारण टिकट वितरणमा ढिलाइ भएको उनले बताएका छन्। जिम्मेवारी सम्हाले लगत्तै निर्वाचन आयोग धाउनुपर्ने अवस्था आएको र केही नेताहरूले चित्त नबुझेर कानुनी बाटो खोजेकाले समयको अत्यधिक चाप परेको उनले उल्लेख गरे।
महामन्त्री थापाले पार्टीभित्र नयाँ र पुरानाको सन्तुलन मिलाउन तथा समावेशी बनाउन अधिकतम प्रयास गरेको दाबी गरे। यद्यपि, सिफारिस भइसकेका नामहरू र समयको अभावले गर्दा सोचेजस्तो नतिजा नआउन सक्ने सङ्केत उनले गरे। उनले आज दिनभरिमा उम्मेदवारको सबै टुङ्गो लगाइसक्ने जानकारी दिए।




प्रतिक्रिया