देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसलाई विश्वास गर्न आग्रह गरेका छन् ।

उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा थापाले सामाजिक सञ्जालमा आउने भ्युज र लाइकको पछि नकुदी कांग्रेसको संगठन र तागतमा विश्वास गर्न सबैलाई आग्रह गरे ।

थापाले भने, ‘नयाँ सोच र शैलीकासाथ आएका छौँ । पाँच वर्षमा के गर्ने भन्ने ठोस सोच र भिजनका साथ आएका छौँ । देश सम्हाल्छौँ । व्यवस्थालाई सुधार्छौ । १६५ वटा क्षेत्रमा निर्वाचन लडेको पार्टी कांग्रेस मात्रै हो । अरु पार्टी छैनन् । यो नयाँ कांग्रेस हो भनेर जनतालाई घरघर गएर बुझाउनुस् ।’

कांग्रेस बदलेर आएको बताउँदै सभापति थापाले जेन–जी युवा समूहको पार्टी नै कांग्रेस भएको बताए ।

‘सबैभन्दा पुरानो, अनुभवी, गौरव गर्न सक्ने र संघर्ष गरेको पार्टी हामी हौं । युवाको आवाज बोल्ने पार्टी भएकोले हामीले नै देश बदल्न सक्छौँ’, उनले भने ।

‘धेरै गुनासाको बीच हिजो मतदान गर्नुभयो । मतदाताको बीचमा पुग्नुभयो । हिजो अप्ठ्यारो चित्त दुख्दासमेत २७ लाख मत समानुपातिकमा दिनुभएको थियो,’ थापाले भने, ‘तपाईंहरूले भनेको आधारमा हामी बदलिएका छौं । गुनासोको कारणको सम्बोधन गरेर आएका छौं । यसकारण मत दिनुपर्छ भन्नुपर्छ ।’

उनले अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको उल्लेख गरे । अहिले समाजमा नागरिकहरूबीच गहिरो रिस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै उनले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको थापाले बताए ।

‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ,’ उनले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई । त्यो कांग्रेस हो । हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ ।’

उनले घरदैलोमा जाँदा कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देश लिएर जान पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।