ठेकेदारलाई तर्साएर ताली पाउँला, तर समस्या समाधान हुँदैन : सभापति थापा

ठेकेदारलाई तर्साएर ताली पाउँला, तर समस्या समाधान हुँदैन : सभापति थापा


काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षमा पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्ने बताएका छन् ।

सभापति थापाले सोमबार सामाजिक सञ्जाल फेसबुमा भिडिया मार्फत ठेक्का तोडेर जादु गरे जस्तो गर्दा पूर्वाधारणको समस्या समाधान नहुने जनाएका छन्। नेपालमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या रहेको बताउदै उनले यसले विकासको लागत त बढाएको समेत बताएका छन् । सडक, सिँचाइ जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता रहेको उनको भनाइ छ ।

पूर्वाधार समयमै बनाउने योजना सुनाउँदै पाँच वर्षमा नेपालले परिवर्तन गर्न सक्छ भन्ने उदाहरण कांग्रेसले पेश गर्ने सभापति थापादे दाबी गरे ।

‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ । सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो,’ उनले भनेका छन् ।

थापाले नारायणगढ–बुटवल सडक खण्ड, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको दूरावस्थालाई चित्रण गर्दै विकासको परम्परागत शैली अब काम नलाग्ने निष्कर्ष सुनाए। थापाले देशका ठुला आयोजनाहरू वर्षौँसम्म अलपत्र पर्ने र सहरका सडकहरूमा समन्वय अभावमा बारम्बार खन्ने पुर्ने काम भइरहने स्थितिलाई विकासको कन्तबिजोगको संज्ञा दिए।

सडक बनेलगतै खानेपानीले खन्ने, त्यसपछि ढल र फाइबरका लागि पुनः खन्ने प्रवृत्तिले लागत मात्र नबढाएको भन्दै उनले यसबाट देशले ठुलो अपरच्युनिटी कस्ट गुमाइरहेको बताए। लामो समयदेखि संसद्, संसदीय समिति र मन्त्रालयमा रहँदा आफूले पूर्वाधार निर्माणमा देखिएका समस्यालाई नजिकबाट नियालेको उनले उल्लेख गरे।

‘हामीले बेलाबेलामा ठेकेदारलाई तर्साएर वा आयोजना स्थलमा पुगेर निर्देशन दिएर ताली त पाउँला, तर समस्याको समाधान हुँदैन,’ थापाले भने, ‘लक्षणमा मात्र काम गरेर हुँदैन, जरामा पुगेर उपचार गर्नुपर्छ।’