झापा– कांग्रेस सभापति गगनकुमार थापाले शेरबहादुर देउवा नेतृत्वमा आएपछि काँग्रेसलाई छियाछिया पारेको आरोप लगाएका छन् ।
झापामा मंगलबार आयोजित एक कार्यक्रममा थापाले बिपी कोइरालाले बनाएको पार्टी पछिल्लो ८-१० वर्षमा छियाछिया पारिएको टिप्पणी गरे ।
देउवाको नाम उल्लेख नगरे पनि थापाले पार्टी र मुलुक अहिलेको अवस्थामा पुग्नुममा पछिल्लो नेतृत्व दोषी रहेको आरोप लगाएका हुन् ।
तर थापाले आफूहरु छियाछिया पारिएको पार्टी बनाउन लागिपरेको उल्लेख गरे ।
अनेक प्रस्ताव पठाएर पार्टी बनाउने अभियानमा भाँजो हाल्न खोजिएको उनको भनाइ थियो ।
थापाले पुरानो संस्थापन पक्षका नेताहरुले आफूहरुलाई अप्ठ्यारोमा पार्ने मनसायसहित ल्याएका प्रस्ताव स्वीकार नगर्ने स्पष्ट गरे ।
‘हामी छियाछिया पारिएको पार्टी बनाउँछौं भनेर आएको बेलामा अप्ठ्यारोमा पार्न अनेक प्रस्ताव आउँछन् भने मानिँदैन’, थापाले भने, ‘त्यसलाई नमानेरै हामी अघि बढ्ने हो ।’
थापाले पार्टी सदस्यता अध्यावधिक नगर्ने नेताहरुलाई महाधिवेशनमा प्रवेश नदिने चेतावनी दिए ।
आफूले सम्मान गर्ने भए पनि प्रणालीले नचिन्ने भएकाले महाधिवेशनमा प्रवेश गर्न नपाइएको दोष आफूलाई नदिन भने ।
‘सदस्यता अध्यावधिक नगर्नु भएकाहरूको नाम सिस्टममा आउँदैन’, थापाले भने, ‘व्यक्तिगत रुपमा म ती नेताहरुलाई सम्मान गर्छु, तर सिस्टमले चिन्दैन । महाधिवेशनमा प्रवेश पाउनुहुन्न ।’




प्रतिक्रिया