काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले तीन दल मिलेर प्रदेशहरूमा सरकार नबनाउने पक्षमा कांग्रेस नरहेको बताएका छन् ।
कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमामा आइतबार बोल्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने बताए ।
तीन दल मिलेर प्रदेश सरकार बनाउन सुझाव आइरहेको बताउँदै उनले नागरिकको म्याण्डेट त्यस्तो नभएकाले कांग्रेसले तीन दल मिल्नु गलत भएको भनिरहेको स्पष्ट पारे।
थापाले एउटासँग चुनावमा गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसले ठूलो मूल्य चुकाएको उल्लेख गर्दै भने, ‘को सत्ता पक्ष हो। को प्रतिपक्ष हो छुट्टिएन।’ थापाले प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहुने बताए ।
‘सत्ता र शक्ति नै सबै थोक हो भन्ने सोचबाट हामी बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘पार्टीले आफ्ना स्थापित मूल्य, मान्यता र सिद्धान्तमा कहिल्यै सम्झौता गर्नु हुँदैन ।’ उनले प्रदेश सरकार गठनका सन्दर्भमा सबै प्रमुख दलहरू मिलेर सरकार बनाउने र प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल नहुने बताए ।
उनले कांग्रेसले प्रदेशमा कुनै कम्प्रमाइज नगर्ने पनि बताए। अब कांग्रेसका नेताहरुले सोच बदलेर अगाडि बढ्नुपर्ने बताउँदै सभापति थापाले २०७२ सालदेखि २०८२ सम्मको १० वर्ष काला र अध्याँरा वर्ष भएको टिप्प्णी गरे ।
‘यो समयमा कांग्रेस सत्तालाई मात्र प्राथमिकतामा राखेको हिँडयो । अब त्यसबाट बाहिर निस्कने गरी काम गर्नुपर्छ’, उनले भने ।
सभापति थापाले राजनीतिक दलहरूका लागि सत्ता प्राप्ति मात्र अन्तिम लक्ष्य हुन नहुने बताए । उनले राजनीतिक दलहरूले सत्ताभन्दा विचार, नीति र सिद्धान्तका आधारमा आफूलाई निर्देशित गर्नुपर्ने बताए ।
थापाले पार्टीको संगठन सुदृढीकरणका लागि सबै तहका नेता तथा कार्यकर्ताले आफ्नो सोच र कार्यशैलीमा समयानुकूल परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए ।




प्रतिक्रिया