सरकारमा बसेर एमसीसीको विरोध गर्न मिल्दैन् : गगन थापा

सरकारमा बसेर एमसीसीको विरोध गर्न मिल्दैन् : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमै बसेर एमसीसीको विरोध गर्न नमिल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठक पछि थापाले सरकारमै बसेर सरकारले नै ल्याएको विधेयकको विराध गर्न नमिल्ने बताएका हुन् । सरकारले ल्याएको प्रस्तावको विपक्षमा हुनेहरूले सरकार छाड्नुपर्ने उनको भनाइ थियो ।

‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विरोध गर्न मिल्दैन।’ उनले भने । थापाले एमसीसी टेबल भएर छलफलका लागि प्रस्तुत हुनु सकारात्मक भएको समेत बताएका छन् । उनले नेकपा एमाले नाराबाजी गरेरै भए पनि एमसीसी टेबुल हुँदा भाग लिएको दाबी गरे । थापाले भने, ‘नाराबाजीकै बीच भए पनि एमालेले छलफलमा भाग लिएको छ। माओवादी, नेमकिपा र जनमोर्चाले पनि एमसीसीबारे छलफल गरेका छन्। अब संसदले आफ्नो प्रक्रिया र्पुयाएर निर्णय लिन सहज हुनेछ ।’

प्रतिनिधिसभाको आइतबार बसेको बैठकले एमसीसी टेबुल गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहे पनि एमसीसी टेबुल गरिएको थियो । संसदमा टेबुल भएसँगै सार्वभौम संसदले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछ । सत्तारुढ दलले एमसीसी संसदमा टेबुल गर्ने निर्णय गरे पनि तिनै दलका अन्य नेता र भातृ संगठन भने सडकमा एमसीसी विरुद्ध नारवाजी गरिरहेका छन् ।

एमसीसीले नेपालको सत्तारुढ गठबन्धन र राजनीतिक दल भित्र मतभिन्नता सृजना गरेको छ । एमसीसीकै कारण दलहरुभित्र आन्तरिक किचलो बढेको छ । एमसीसीलाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । अमेरिकाले एमसीसी चिनियाँ दबाबका कारण रोकिन लागेको प्रतिक्रिया दिएको छ । चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपालमाथि कूटनीतिक दबाब दिइरहेको आरोप लगाएको छ ।