काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि सच्याएको भए आज प्रचण्ड–नेपाल समूहले सडकमा जानुपर्ने अवस्था नआउने दावी गरेका छन् ।
संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको काठमाण्डु क्षेत्र नम्बर ४ को विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओलीका गतिविधि सच्याएको भए प्रचण्ड–नेपालले माइतीघरको सडकमा पुगेर ‘हामी यहाँ छौं’ भन्ने अवस्था नआउने दावी गरेका हुन् ।
‘मैल राष्ट्रपति विद्यादेवी भण्डारीका क्रियाकलापलाई लिएर श्री ६ बडामहारानी भन्दा कहाँ हुनुहुन्थ्यो ? संसद्मा उपसभामुख छैन भन्दै गर्दा कहाँ हुनुहुन्थ्यो ? न्यायधीश नियुक्तिमा संसदीय अंकगणित प्रयोग नगरौं भन्दा कहाँ हुनुहुन्थ्यो ? प्रधानमन्त्रीले किस्ता किस्तामा संविधानमाथि धावा बोल्दै गर्दा कहाँ हुनुहुन्थ्यो ? तपाईंको ‘बा’लाई विश्राम दिनुहोस् भन्दा कहाँ हुनुहुन्थ्यो ?,’ नेता थापाले प्रश्न गर्दै भने ।
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोकरका रुपमा तुलना गर्दै नेता थापाले ओली भाषणमा गफदिँदै गर्दा ताली बजाउनेहरुलाई संयमित भएर सोच्न समेत आग्रह गरे । उनले भने, ‘तपाइँहरुले प्रधानमन्त्री खोजेको होकी जोकर खोजेको हो ?’
उनले प्रधानमन्त्रीलाई ओलीलाई खुला मञ्चमा बहश गर्न समेत चुनौती दिए । ‘कमरेड ओलीलाई खुला चुनौती, तपाई सुवास नेम्वाङ र अग्नी खरेल बोकेर आउनुस् हामी संविधान जारी गर्ने रामवरण यादव लिएर आउँछौं । खुलामञ्चमा बहश गरौं ।’
नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकले आज सबैको घरमा आगो लागेको भन्दै अब आगो निभाउनका लागि जसरी हुन्छ सबैले लाग्नु लाग्नुपर्ने भनाई थियो ।




प्रतिक्रिया