काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि, मिडिया काउन्सिल लगायत विधेयक संविधान र अभिव्यक्ति स्वतन्त्रताको खिलाप भएको भन्दै विधेयकविरुद्ध उत्रिन स्वतन्त्रताका पक्षधरहरुलाई संसदबाटै आह्वान गरेका छन् ।
संसदको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले बहुमतको बलमा यो विधेयक पास हुने हो भने सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित नहुने आरोप लगाए ।
सांसद थापाले भने, ‘गुठियारहरु होसियार, गुठी भनेको सामन्तवादी प्रवन्ध हो भन्ने सरकारी मुर्खलाई खबरदारी बन्दै गर्दा धम्क्याइएको आरोपमा ५ वर्ष भित्र बस्नुपर्ला । प्रधानमन्त्रीले पानी जहाज ल्याउँछु भन्दा जिस्काइयो भनेर कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार ।’
उनले अघि भने, ‘म त भन्छु, प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार । किनकी यहाँ अब कोही सुरक्षित छैन । यो कानुन पारित भइसकेपछि कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौं । यहाँ केवल सरकारको अरिङ्गालहरु मात्र सुरक्षित रहन सक्छन् ।’
आफूलाई मन नपर्दा जोसुकैको पनि मुख थुन्न सक्ने गरी कानून बनाउन लागिएको उनले आरोप लगाए ।




प्रतिक्रिया