काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले स्वेच्छाले तत्काल पदबाट राजीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने बताएका हुन् ।
अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेपछि उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सांसद थापाको भनाई छ । उनले अर्थमन्त्रीले अनाधिकृ व्यक्तिलाई सामेल गरेर करको दायरा परिवर्तन गरेको विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताए ।
‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसबारे एक्सनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो, बाहिर उठ्यो, हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको अर्थमन्त्रीजीले राजीनामा दिनुपर्छ’, उनले भने, ‘यदि राजीनामा नदिने हो भने प्रधानमन्त्रीजीले हटाएर तत्काल छानबिन गर्नुपर्छ ।’
उनले सीसीटीभी फुटेज डिलिट गरिएको विषयमा पनि प्रश्न उठाए । ‘हाम्रो आफ्नै कार्यविधि छ । हाम्रो आफ्नै नियम, कानुनले पनि हामीलाई कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज राख्ने कुरा भनिहाल्छ । त्यसमाथि पनि बजेट यो संसदले पारित गरेको छ’, उनले भने, ’करको दर हेरफेर सामान्य कुरा होइन। कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट जान पाउने कुरा पनि छैन। यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन। यस्तो ग¥यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ। र, जे गरे पनि हुन्छ भन्ने कुरा रहन्छ ।’
थापाले अर्थमन्त्रीले पद त्याग्नु नै ठीक हुने बताए । ‘हुँदै नभएको कुराको आरोप पनि कसैले खेप्नुपर्ने हुन्छ । त्यसैले मलाई लागेको यो अर्थमन्त्रीजीको पनि हितमा छ । तत्काल उहाँले राजीनामा दिने’, उनले भने, ’प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाएर यसको छानबिन गर्ने । छानबिनपछि दोषी हो भने दोषीले यसको सजाय प्राप्त गर्ने नै कुरा भयो। दोषी होइन भने देश र जनतालाई थाहा भयो। होइन रहेछ भन्ने थाहा भयो।’




प्रतिक्रिया