आज गाईजात्रा पर्व, उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा पर्व, उपत्यकामा सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभर आइतबार गाईजात्रा पर्व मनाइँदै छ । विशेष गरी काठमाण्डु उपत्यकामा, रङ्गिन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित गाईजात्रा पर्व मनाइँदै छ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो सांस्कृतिक पर्व आजको दिन विशेष रौनकमा हुन्छ।

गाईजात्राको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा, गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराउने परम्परा छ। सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही लगायत अन्न र नगद दान गर्ने प्रचलन अझै जीवित छ। धार्मिक विश्वासअनुसार, यसरी नगर परिक्रमा गर्दा दिवङ्गत आत्माले वैतरणी पार गर्न सजिलो हुन्छ।

यो पर्वको सुरुवातको कथा राजा प्रताप मल्लसँग जोडिएको छ। पुत्र वियोगले शोकमा डुबेकी रानीलाई संसारमा सबैलाई दुःख भोग्नु पर्छ भन्ने देखाउन, उनले जनतालाई दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिए। पछि रानीलाई मुस्कान फर्काउन हास्यव्यङ्ग्य र प्रहसन पनि यस पर्वमा समावेश गरियो।

प्रताप मल्लको पालादेखि हनुमानढोकास्थित राजदरबार हुँदै गाईजात्रा जाने परम्परा आजसम्म कायम छ। विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् ।

पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन राजाले जनतालाई आफ्ना दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन आदेश दिएका थिए। जब रानीले धेरै मानिसले पनि यस्तै शोक व्यहोरेको देखिन्, तब उनको मनमा शान्ति मिलेको जनविश्वास छ ।

त्यसपछि रानीको मन थप शान्त पार्न राजाले हास्यव्यङ्ग्यका कार्यक्रमहरू गराउने आदेश दिएको र त्यसैबेलादेखि हास्यव्यङ्ग्यको प्रचलन चलेको मानिन्छ ।

उपत्यकाबाहेक बनेपा, पनौती, धुलिखेल, त्रिशूली, दोलखा, इलाम, धरान, पोखरा लगायत नेवार समुदायको बसोबास रहेको सहरमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ।

गाईजात्रा हास्यव्यङ्ग्यको पर्व पनि हो। यहाँ समाजमा रहेका विकृति–विसङ्गति उजागर गरिन्छ, व्यङ्ग्यका माध्यमबाट सचेतना फैलाइन्छ। पाटनमा देखाइने सत्ययुगको धान र चामलको नमुना, काठमाण्डुको ठमेलमा प्रदर्शित स्वर्ण रजताक्षरका पुस्तकहरू दर्शकको आकर्षणका केन्द्र बन्छन्।

सरकारले यसदिन काठमाण्डु उपत्यकामा सार्वजनिक बिदा छ ।