काठमाण्डु – उपत्यकासहित देशभर आइतबार गाईजात्रा पर्व मनाईंदैछ। हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व गाईजात्रा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ।
देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ।
यो पर्वको सुरुवातको कथा राजा प्रताप मल्लसँग जोडिएको छ। पुत्र वियोगले शोकमा डुबेकी रानीलाई संसारमा सबैलाई दुःख भोग्नु पर्छ भन्ने देखाउन, उनले जनतालाई दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिए। पछि रानीलाई मुस्कान फर्काउन हास्यव्यङ्ग्य र प्रहसन पनि यस पर्वमा समावेश गरियो।
प्रताप मल्लको पालादेखि हनुमानढोकास्थित राजदरबार हुँदै गाईजात्रा जाने परम्परा आजसम्म कायम छ। विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् ।
गाईजात्रा हास्यव्यङ्ग्यको पर्व पनि हो। यहाँ समाजमा रहेका विकृति–विसङ्गति उजागर गरिन्छ, व्यङ्ग्यका माध्यमबाट सचेतना फैलाइन्छ। पाटनमा देखाइने सत्ययुगको धान र चामलको नमुना, काठमाण्डुको ठमेलमा प्रदर्शित स्वर्ण रजताक्षरका पुस्तकहरू दर्शकको आकर्षणका केन्द्र बन्छन्।














प्रतिक्रिया