युद्धग्रस्त गाजामा भोकका कारण एकैदिन ११ जनाको मृत्यु

युद्धग्रस्त गाजामा भोकका कारण एकैदिन ११ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सीले गाजामा करिब १० लाख महिला र किशोरीहरू अत्यधिक भोकमरी, हिंसा र दुव्र्यवहारको सामना गरिरहेका छन्।

एजेन्सीले गाजामा भोक तीव्ररूपमा फैलिरहेको, महिला र किशोरीहरू खाना र पानी खोज्न अत्यन्तै जोखिमपूर्ण अवस्थामा बाहिर निस्कन बाध्य रहेको र उनीहरूको ज्यानको समेत खतरा रहेको बताएको हो ।

यूएनआरडब्लुएले गाजामाथिको इजरायली नाकाबन्दी तुरुन्त हटाउन माग गर्दै ठूलो मात्रामा राहत सामग्री भित्र्याउन अनुमति दिन आग्रह गरेको छ। गाजामा हाल करिब २० लाखभन्दा बढी मानिस बसोबास गर्दै आएका छन्।

स्वास्थ्य अधिकारीहरूको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा कुपोषण र भोकका कारण एक बालकसहित थप ११ जनाको मृत्यु भएको छ। यससँगै भोकमरीका कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ, जसमा १०८ बालबालिका छन्।

गत वर्षको मार्च महिनादेखि इजरायली आक्रमणका कारण हालसम्म ६१ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख ५५ हजारभन्दा बढी घाइते भएका छन्।

गत बिहीबार, १०८ गैरसरकारी संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मे १९ यता अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा एक गाडी पनि जीवनरक्षक सामग्री पुर्‍याउन नसकेको जनाएका छन्। इजरायलले ती संस्थाहरूलाई राहत वितरणको अनुमति नदिएको बताइएको छ। जुलाई महिनामा मात्रै ६० भन्दा बढी निवेदन अस्वीकृत गरिएको थियो।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार, जुन १३ देखि जुलाई २८ सम्मको अवधिमा राहत लिन गएका कम्तीमा १,७६० जना गाजावासीको ज्यान गएको छ। तीमध्ये ९९४ जना राहत वितरण केन्द्र नजिकै र ७६६ जना राहत गाडीहरू चल्ने बाटोमा मारिएका थिए।

यूएनआरडब्लुएले तत्काल आवश्यक राहत सामग्री पुर्‍याउन र महिलाहरू तथा किशोरीहरूको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय भूमिका खेल्न आह्वान गरेको छ।