सहायता सामग्री पुर्‍याउन गाजा सीमा खोल्ने सम्झौता

सहायता सामग्री पुर्‍याउन गाजा सीमा खोल्ने सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यालेष्टिनी  – अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन्। गाजाबाट इजरायली हमलाका बीच १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडी भागेका छन्।

इजरायलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग गहन टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा प्रवेश गर्नका लागि बन्द भएको रफाह पार गर्न शुक्रबारदेखि सीमित संख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताए।

अक्टोबर ७ यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ। अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयको मृत्यु भएको छ भने हमासले करिब दुई सयलाई बन्धक बनाएको छ।

त्यसयता इजरायलले प्यालेस्टिनी क्षेत्रलाई घेरा हालेको छ र हवाई हमला सुरु गरेको छ। साथै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी लगाएको छ र अपेक्षित जमिन आक्रमणको तयारीका लागि दशौँ हजार सेनालाई सीमामा परिचालन गरेको छ।

संयुक्त राष्ट्रसंघ र मानवतावादी समूहहरूले गाजामा सैन्य पकडलाई कम गर्न पानी, खाद्यान्न, इन्धन र औषधिहरूको आपूर्तिको अनुमति दिन आग्रह गरेका छन्।

राष्ट्रसंघीय मानव अधिकारवादी शीर्ष अधिकारी मार्टिन ग्रिफिथ्सले बुधबार गाजामा स्थिति गम्भीर रहेको भन्दै घाइतेले अस्पताल भरिएको, तीन हजार गाजावासी मारिएको र १२ हजार पाँच घाइते भएको बताए । ‘मृत्यु, पीडा र विनाशको गतिलाई बढाइचढाई गरेर भन्न सकिन्न,’ उनले भने।

विनाशका बाबजुद गाजामा प्रवेशका लागि इजिप्टतिरको सीमा क्षेत्रमा एक सयभन्दा बढी ट्रक लाइन लागेका छन्।इजरायलले सहायता सामग्री पुर्‍याउने निहुँमा हतियार हमासको हातमा पुग्न सक्ने चिन्ता व्यक्त गरेको छ। दशकौँदेखिको संघर्षको यो चरण सुरु भएपछि इजरायलले सीमापार क्षेत्रमा कैयौँ हवाई हमला गरिसकेको छ।

सीमामा नियन्त्रण गरेको इजिप्टलाई प्रवेशद्वार खोल्दा दशौँ हजार शरणार्थी आफ्नो भूमिमा आउने चिन्ता छ। अमेरिकी राष्ट्रपति बाइडेनले सुरुमा करिब २० वटा ट्रक गाजामा प्रवेश गर्ने र सबै पक्षबीच सहमति भए अरू ट्रक पठाइने बताए।

‘हामी सम्भव भएसम्म धेरैभन्दा धेरै ट्रकलाई बाहिर पठाउन चाहन्छौँ,’ उनले भने, ‘यदि हमासले ट्रकलाई नियन्त्रणमा लिन्छन् र लक्षित स्थानमा पुर्‍याउन दिँदैनन् भने ट्रक पठाउने काम यहीँ बन्द हुन्छ, हामी हमासलाई कुनै पनि मानवीय सहायता पठाउने छैनौँ।’

इजरायली अधिकारीहरूले डेलिभरी खाद्यान्न, पानी र औषधिसम्म सीमित हुने भन्दै उक्त सामग्रीको प्रयोग हमासले गर्नेछैन भन्ने सर्त भएको बताएका छन्। राष्ट्रसंघीय अधिकारी ग्रिफिथ्सले गाजामा मानवीय सहायता पूरा गर्नका लागि प्रतिदिन एक सय ट्रकको आवश्यकता रहेको बताए।-एएफपी