काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमबीच नेपाल पुलिस स्कूल सामाखुसीमा सञ्चालित प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान गरे ।
उनले रेफ्री, जुरी लगायत विभिन्न भुमिकामा प्राविधिक सहयोग गर्नेहरूलाई मायाको चिनो प्रदान गरे । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विजयी खेलाडीलाई बधाई दिँदै उपविजेता तथा सहभागी सम्पूर्ण खेलाडीहरूबाट प्रदर्शित खेल कौशलको कदर गर्नुका साथै खेलाडीहरूको उज्वल भबिष्यको कामना समेत गरे ।
खेलकुदले विद्यार्थीहरूमा रहेको प्रतिभाहरूलाई प्रस्तुत गरी समग्र व्यक्तित्व विकासमा पढाईका साथसाथै अतिरिक्त क्रियाकलापहरू समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले प्रतियोगितामा खेलाडीहरूले देखाएका सक्रिय सहभागीता, प्रयास र लगनशीलताको उच्च प्रशंसा गरे ।
प्रहरी महानिरीक्षक कुँवरले कुनै पनि खेललाई हारजीतको रूपमा मात्र हेर्नुभन्दा यसलाई सिकाइ र अनुभवको माध्यमका रूपमा हेरी स्वःमूल्यांकन गर्दै आगामी दिनका लागि आफूलाई तयारी गर्ने मौकाको रूपमा समेत हेर्नुपर्ने बताए । खेलले अनुशासन, समयको सही सदुपयोग तथा व्यवस्थापन, तीव्र निर्णय क्षमता, आइपर्ने चुनौतिलाई कसरी सामना गर्न सकिन्छ भन्ने शिक्षा प्रदान गर्ने हुँदा त्यसलाई आफ्नो व्यक्तिगत जीवनशैलीको रूपमा समेत लागू गर्नेतर्फ चिन्तनशील हुन सम्पूर्ण खेलाडीलाई उनले आग्रह गरे ।
प्रहरी महानिरीक्षक कुँवरले आजको युग विज्ञान र प्रविधिको युग भएको चर्चा गर्दै शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यावहारिक र व्यावसायिक बनाउँदै विद्यार्थीहरूको बौद्धिक एवं व्यावसायिक विकासमा विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्नेमा जोड दिए । विद्यार्थीहरूको चौतर्फी विकासको लागि विद्यालय, अभिभावक वर्ग र समाजको समेत जिम्मेवारी हुने हुँदा यो विषय सबैको प्राथमिकता हुनुपर्ने र यसका लागि हरतरहको भूमिकामा नेपाल प्रहरीको साथ र सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले प्रतियोगितालाई सफल बनाउनको लागि सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिन् ।
सो अवसरमा विद्यालयका संरक्षक एवं काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले संयुक्त रूपमा एनपीएस तेक्वान्दो डोजाङका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाल पुलिस स्कूल सामाखुसीका प्राचार्य रामप्रसाद भुसालले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतियोगितामा नेपाल पुलिस स्कूल सामाखुसी, नेपाल पुलिस स्कूल काभ्रे, नेपाल पुलिस स्कूल धरान, सशस्त्र प्रहरी स्कूल कीर्तिपुर लगायत ४७ वटा विद्यालय/डोजाङका करीब ६०० जना तेक्वान्डो खेलाडीहरूको सहभागिता थियो ।




प्रतिक्रिया