पुलिस थ्री स्टारसँग पराजित

पुलिस थ्री स्टारसँग पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सातौं चरणको खेलबाट विदेशी खेलाडी समावेश गरेको विभागीय टोली नेपाल पुलिस क्लवमाथि ललितपुरे टोली थ्री स्टार क्लवले शहीद स्मारक ए डिभिजन लिगमा १–० को रोमाञ्चक जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बिहीबार सम्पन्न खेलमा थ्री स्टारले फरवार्ड मार्टिन कायोडे अजाइले दोस्रो हाफमा गरेको गोल निर्णायक भएको थियो। यसअघि पहिलो हाफमा दुवै टोलीले राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए।

आठौं चरणको खेलमा थ्री स्टारले पुलिसविरुद्ध सुखद् नतिजा निकाल्दा अजाइले ६४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। अजाईले कप्तान अशोक खवासको पासलाई सदुपयोग गर्न सफल भएका थिए। खवासले पेनाल्टी क्षेत्रमा उपलब्ध गराएको पासलाई अजाई पहिलो प्रयासमा जाली चुमाउन सफल भएका हुन्।

यसअघि खेलको ३७औं मिनेटमा थ्री स्टारका लाकेन लिम्बूको हेडर प्रयासलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरेका थिए। यस्तै ७४ औं मिनेटमा मोसिसको प्रहारलाई थ्री स्टारका गोलकिपर मोहम्मद ताहाले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो।

यससँगै थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ। पराजय व्यहोरेको पुलिसको समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ। लिगमा शुक्रबार विश्राम छ भने शनिबारबाट नवौं चरणका खेल खेल हुनेछन्।