गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी


काठमाण्डु- गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने तयारीमा छन् ।

एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको थियो ।

गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको छ । जसअनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका स्थायी कमिटी सदस्य समेत रहेका एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै छन् ।