संविधान आयो, संघीयता लागू भयो तर प्रदेशले काम गर्नै पाएको छैन : मुख्यमन्त्री पाण्डे

संविधान आयो, संघीयता लागू भयो तर प्रदेशले काम गर्नै पाएको छैन : मुख्यमन्त्री पाण्डे


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता लागू भए पनि आवश्यक कानून नबन्दा प्रदेश सरकारले काम गर्न नपाएको गुनासो गरेका छन् ।

शनिबारबाट पोखरामा सुरु भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा मुख्यमन्त्री पाण्डेले संघीयता अनुकूलका कानून निर्माणमा संघीय सरकारसँग संघर्ष गर्नुपर्ने अवस्था रहेको बताए । संविधानमा व्यवस्था गरेअनुसार संघीय सरकारले पर्याप्त कानून नबनाइदिँदा आफूहरूले सरकारजस्तो भएर काम गर्नै नसकेको उनले बताए ।

संविधानले ३ तहको सरकारको व्यवस्था गरे पनि त्यसअनुसार संघीय सरकारले समयमै कानून निर्माण नगर्दा प्रदेशलाई काम गर्न असजिलो भएको उनको गुनासो छ ।

उनले भने, ‘हामीले पटक–पटक संघ सरकारसँग, संघीय संसद्सँग संघर्ष गरिरहेका छौं । प्रधानमन्त्री र मन्त्रीहरू सबैसँग बसेर छलफल भएको छ । संविधान आयो, संघीयता पनि लागू भयो तर त्यसअनुसार अरु आवश्यक कानूनहरू नबनेका कारण प्रदेश सरकारले काम गर्न पाएको छैन ।’

प्रदेशले आफ्नै कर्मचारी, प्रहरी र अन्य कतिपय कामहरू गर्न पाउने व्यवस्था नभएसम्म प्रदेश सरकारले काम गर्नै नसक्ने अवस्था रहेको उनले गुनासो गरेका छन् ।