गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट दायर


काठमाण्डु- नेपाली कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएको छ ।

कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने उनको माग छ ।

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा पनि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

सभामुखले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध सर्वोच्चमा रिट दिएको पाण्डेले जनाएका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement