काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
बुधबार प्रदेशप्रमुख सीता पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छन् । गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिएका छन् ।
गण्डकीमा सात वटा मन्त्रालय रहेका छन् । जसअनुसार राजिव गुरुङ युवा तथा खेलकुद मन्त्रालय, रामशरण बस्नेत भौतिक पूर्वाधार र आन्तरिक मामिला तथा कानून मन्त्रालय, किरण गुरुङ आर्थिक मामिला तथा योजना मन्त्रालय, नरदेवी पुन मगर सामाजिक विकास मन्त्रालय, विकास लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मुख्यमन्त्री गुरुङले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफैंले राखेका छन् ।
गत वैशाख २६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्री गुरुङले वैशाख २९ गते संसदमा सबैभन्दा ठूलो दलको हैसियतले पुनः शपथ लिएका थिए ।
उनलाई प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (३) अनुसार सदनमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले पुनः एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।




प्रतिक्रिया