काठमाण्डु- माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले गण्डकी प्रदेशसभामा गैरसांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । एकीकृत समाजवादीले गण्डकी प्रदेशसभामा आफ्नो पार्टीबाट एक जना पनि सांसद नभएपछि गैरसांसदलाई मन्त्री बनाउने तयारी गरेको हो ।
पाँच दलीय गठबन्धन नेतृत्वको सरकारमा गठबन्धनबाट केन्द्रदेखि प्रदेशसम्म ६ वटा प्रदेशमा नेकपा एकीकृत सहभागि भएको छ । ६ वटा प्रदेशमा नेकपा एकीकृत अटाए पनि गण्डकी प्रदेश सरकारमा भने एकीकृत समाजवादीको तर्फबाट एक जना संसदको सहभागि छैन् । त्यसैले नेकपा एकीकृत समाजवादीले गैर सांसदलाई मन्त्री बनाएर भए पनि गण्डकी प्रदेश सरकारमा सामेल हुने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका एक जना मन्त्रीले राजीनामा दिने र नेकपा एसबाट एक जनालाई सरकारमा पठाउने तयारी गरिएको जनाइएको छ । एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठका अनुसार गण्डकी सरकारमा पनि सहभागि हुन एक जना गैरसांसदलाई मन्त्री बनाउने तयारी भएको हो । उनले भने, ‘सात प्रदेशमध्ये ६ वटामा एकीकृत समाजवादी सरकारमा सहभागि छ तर गण्डकीमा सांसद समेत छैनन्।’
श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट एक जना मन्त्री बनाउने र गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनाउने सहमति जुटेको बताए । ‘सुदूरपश्चिममा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी हो । त्यसैले सुदूरपश्चिममा कांग्रेसबाट एक जना मन्त्री बनाउने तयारी भएको छ । यता गण्डकीमा एकीकृत समाजवादीबाट एक जना मन्त्री बनाउने बन्ने विषयमा पहिले देखिनै छलफल हुँदै आएको छ ।’




प्रतिक्रिया