काठमाण्डु –गण्डकी प्रदेशका विपक्षी गठबन्धनका सांसदहरू धर्नामा बसेका छन् । नयाँ सरकार गठनका लागि सशरीर बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै विपक्षी गठबन्धनका ३१ सांसद अहिले प्रदेश प्रमुख सीताकुमारी पौडेल निवास अगाडि धर्ना दिएका हुन् ।
प्रदेशमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि हिजो मात्रै प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी थिइन् । ज्येष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।
नयाँ सरकार गठनका लागि आह्वान भएको दुई घण्टामै विपक्षी गठबन्धन बहुमत सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए । बहुमत सांसद सशरीर उपस्थित गराएर पोखरेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । तर आज वैकल्पिक सरकारका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेपछि घटनाक्रमले नयाँ मोड लिएको छ ।
विपक्षी गठबन्धनका सबै सांसद प्रदेश प्रमुखकोमा गएर अहिले धर्ना दिइरहेका छन् । बहुमतको कदर नहुँदासम्म धर्ना जारी राख्ने सांसदहरूले बताएका छन् । कांग्रेस सांसद विष्णु प्रसाद लामिछाने भन्छन् ‘विधिको शासन तोड्ने काम भएको छ । भित्र जाल झेल हुँदै छ भन्ने सुनिएको छ । बहुमत सदस्य हामी ३१ जना हामी यही छौँ । यो विधिको शासन ताड्न खोजिँदै छ, हामी त्यसको विरुद्धमा छौँ । जबसम्म विधिको शासन कायम हुँदैन हाम्रो आन्दोलन जारी रहन्छ ।’
प्रदेशसभामा विश्वासको मत नपाएका मुख्यमन्त्री गुरुङले आज बहुमतको दाबी गर्नुलाई प्रदेशसभा विघटनतर्फ लैजाने षडयन्त्रको रुपमा विपक्षी दलहरुले लिएका छन् ।




प्रतिक्रिया