गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रिमण्डल बनाएर शपथ ग्रहण गर्ने भएका छन् । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।

को हुन् मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेल ?

७१ वर्षे पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट विजयी भएका हुन् । उनले एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरेका हुन् । २००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल बि.स २०२२ बाट नेपाली राजनीतिमा होमिएका हुन् ।

उनका पिता प्रजातन्त्र सेनानी गोवर्द्धन शर्माको प्रेरणाबाट उनी नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय भएका हुन । उनका पिता गोवर्द्धन शर्मा तनहुँको कांग्रेस राजनीतिमा सक्रिय थिए । शर्मा प्रजातन्त्रका सेनानी तथा कांग्रेसका केन्द्रीय सदस्य समेत भए । नेपाली शर्माका माइला छोरा हुन्। उनी विभिन्न आन्दोलनमा ५–६ पटक जेल परेका छन् ।

 पोखरेलले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् । भारतमै रहँदा उनले आफ्नो नामको पछाडि नेपाली लेख्न सुरु गरेका हुन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका हुन् ।नवलपरासी पूर्वको विकासकालागि उनी निरन्तर जनतासँग छलफल गर्नेभएकाले जनताका प्रिय मानिन्छन् । हरेक विकासका योजना बनाउँदा जनभावना अनुरूप गनुपर्छ भन्ने उनको मान्यता छ ।