काठमाण्डु – गण्डकी प्रदेशमा बुधबार भएको घटनाले राष्ट्रिय राजनीतिमा नै हलचल मच्चाएको छ । गण्डकीमा राष्ट्रिय जनमोर्चाका सांसद खीमबहादुर शाहीलाई अपहरण शैलीमा अस्पतालको आईसियूमा भर्ना गरिएको विपक्षीहरुको आरोप छ । उक्त घटनाले राष्ट्रिय राजनीतिमा नै हलचल मच्चाएको हो ।
बुधबार दिउँसो बोलाइएको प्रदेशसभा बैठकमा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको पक्ष र विपक्षमा मतदान गर्ने कार्यसूची तय गरिएको थियो ।
सोही अनुसार सांसदहरु प्रदेशसभामा उपस्थित हुने तरखर गर्दै थिए । बुधबार बिहानसम्म माहोल सबै ठिकठाक चलिरहेको थियो । १२ बजेतिर एकाएक हल्ला चल्यो– जनमोर्चाका एक जना सांसद बेपत्ता ! त्यसपछि मिडियाहरुमा समाचार बाहिरिन थाले ‘जनमोर्चाका सांसद खीमबहादुर शाही बेपत्ता !’ प्रदेशसभामा पनि सांसदहरुबीच हल्लीखल्ली मच्चियो ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भयो । बैठकमा सांसद हराएको भन्दै नेपाली कांग्रेस माअोवादी केन्द्र र जनमोर्चाले आवाज उठाए । त्यसपछि जनमोर्चाले सभामुखसमक्ष बैठक स्थगित गर्न माग गर्यो । जनमोर्चाको मागअनुसार सभामुखले बैठक स्थगित गरेको सूचना पढेर सुनाए ।
त्यसपछि सांसदहरु हराएका आफ्ना सांसद अस्पतालमा रहेको सूचना पाएपछि पोखरामा रहेको चरक अस्पतालमा पुगे । अस्पताल प्रशासनले कोरोना संक्रमण भएर सांसद शाही अस्पतालको आईसियूमा भर्ना भएकाले भेट्न दिइएन ।
उनलाई कोभिड अस्पतालको आईसियूमा राखेर उपचार जारी रहेको अस्पतालले ब्रिफिङ गर्यो । अस्पतालले आफ्ना सांसद भेट्न नदिएपछि जनमोर्चाका एक जना सांसदले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई फोनबाटै थर्काए ।
उनले भने, ‘एमालेको राज्य हो ? राज्यमा मान्छे छैनन् ? कसको प्रतिनिधि भएर बसेको छ… सिडिओ ? अर्काको सांसद लुकाएर राख्ने ? तेरो काम हो ?’
अस्पतालले आफ्ना सांसदलाई भेट्न नदिएपछि उनले सिडिओलाई फोन गरेर थर्काएका थिए । जवाफमा सिडिओले भने, ‘डाक्टरले भेट्न नदिए मेरो के लाग्छ त नि ! स्वास्थ्यको कुरा डाक्टरले जान्ने कुरा हो ।’
डाक्टरले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जवाफ भेट्न जाने सांसदहरुलाई दिए । मंगलबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट बुधबार बिहान ७ः२० मा आएको रिपोर्टले नेगेटिभ देखाएको छ भने पोखराकै लाइफ केयर डायगोनोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिमा गरिएको परीक्षणमा पोजिभिट रिपोर्ट आएको हो ।
दुई वटै रिपोर्ट १० मिनेटको फरकमा आएको हो । १० मिनेटको फरकमा आएको रिपोर्टले सत्तापक्षले सांसद लुकाउने खेल खेलेको आरोप लागेको छ । उनको दुवै स्वाव संकलन मंगलबार नै गरिएको थियो ।
मंगलबार नेकपा एमालेका सांसदहरुले सबै सांसदको कोरोना परीक्षण गर्न माग गर्दै संसद अवरुद्ध गरेको थियो । त्यसपछि मंगलबार ४ बजे सबै सांसद र कर्मचारीहरुको कोरोना परीक्षण गरियो । बुधबार बिहान सबैको रिपोर्ट आयो ।
जसमा नेकपा एमालेका दुई जना र नेपाली कांग्रेसका एक जना सांसदको मात्र कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । रिपोर्ट पोजिटिभ आउनेहरुमा एमालेका सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङ रहेका छन् ।
राष्ट्रिय जनमोर्चाले षड्यन्त्रमा उक्त काम भएको आरोप लगाएको छ । सांसद शाही अविश्वासको पक्षमा मतदान गर्ने सांसद भएकाले राज्य पक्षबाट कसैलाई प्रयोग गरेर अपहरण शैलीमा अस्पतालमा राखिएको एक सांसदले बताए ।
‘उहाँलाई पक्राउ गरेर त्यस्तो इन्जेक्सन लगाएर राखिएको छ । मतदान हुनेबेलामा उहाँलाई अनुपस्थित गराउन गरिएको षड्यन्त्र हो’, जनमोर्चाका एक सांसदले भने, ‘उहाँ अविश्वासको पक्षमा मतदान गर्ने सांसद हो त्यसकारण राज्य पक्षबाट कसैलाई प्रयोग गरेर गरिएको हुनसक्ने सम्भावना मैले देख्छु ।’
नेपाली कांग्रेसका सांसद विष्णु लामिछानेले प्रायोजित रुपमा अस्पताल भर्ना गरिएको बताए ।
‘उहाँ डिस्चार्ज हुनुभएको छैन् । प्रयोजित रुपमा गरिएकाले उहाँको स्वास्थ्य अवस्थालाई गम्भीर देखाइएको हो । कसैलाई भेट्न जान दिइएको छैन्’, उनले भने ।
स्थिति सार्वजनिक गर्न जनमोर्चाको माग
राष्ट्रिय जनमोर्चाले सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै सांसद शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।
‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।’
विज्ञप्तिमा गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको तर अकस्मात रिपोर्ट पोजेटिभ आएकाले सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? भन्दै प्रश्न गरिएको छ ।
‘गण्डकी प्रदेशका सांसदहरुको स्वाब परीक्षण गर्दा उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि अकस्मात उहाँको रिपोर्ट पोजेटिभ आएको र अस्पताल भर्ना भएको भन्ने कुरा थाहा हुन गएको छ । सरकारी प्रयोगशालामा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको व्यक्तिलाई अकस्मात कसरी पोजेटिभ आयो ? त्यो कुरा बुझ्न हामी असमर्थ छौं,’ विज्ञप्तिमा भनिएको छ ।
कस्तो राजनीतिक संस्कार बस्दैछ ?
गण्डकी प्रदेशको घटनाले हामी कस्तो राजनीतिक संस्कार बसाउँदैछौं भन्ने स्पष्ट पारेको छ । प्रदेशको कानून बनाउने सांसद नै अपहरण शैलीमा अस्पतालको आईसियूमा भर्ना हुनु लज्जाको विषय भएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बताइन् । सांसद संग्रौलाले गण्डकी प्रदेशमा भएको घटनाले राजनीतिमा गलत नजिर बसेको बताइन् ।
‘यस्तो विकृति संसदीय व्यवस्थाविरुद्ध हो । देशको कानून बनाउने सांसद नै अपहरण पर्छन् भने सर्वसाधारण नागरिकको हालत के होला ?’, उनले भनिन् ।
सत्ताको आडमा सांसद अपहरण गर्नुले गुण्डागर्दी भएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए । उनले स्वस्थ सांसदलाई अपहरण शैलीमा अस्पताल भर्ना गरेर राजनीतिलाई नै धुमिल पार्ने काम भएको बताए ।
‘यो राजनीतिक कुसंस्कार हो । कोरोना नभएको मान्छेलाई कोरोना भन्दै अस्पताल भर्ना गर्नु पनि संस्कार हुन्छ ? यो गुण्डागर्दी हो’, उनले भने ।




प्रतिक्रिया