गण्डकी सरकारलाई पूर्णता दिने तयारी

गण्डकी सरकारलाई पूर्णता दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाेखरा – प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाएका थिए ।

सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताइन् । “गठबन्धनमा आन्तरिक तयारी भइरहेको छ, दुई-तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”, उनले भनिन् ।

मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्यजिम्मवारी सम्हालेपछि सरकारका कामकारबाहीले गति लिने उनको भनाइ छ । “मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पनि पाइसक्नुभएको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन, सरकार सहज रुपमा अघि बढ्छ”, प्रवक्ता तिवारीले भनिन् ।

६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३५ बहुमत सदस्यले मुख्यमन्त्री पाण्डेलाई बिहीबार विश्वासको मत दिएका थिए । नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत हाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।