राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन र देशभक्त नेता गुमायो : अध्यक्ष तिमिल्सिना


काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन र देशभक्त नेता गुमाएको जनाएका छन् ।

उपाध्यक्ष नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको निधनप्रति शोक वक्तव्य जारी गर्दै अध्यक्ष तिमिल्सिनाले नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन, देशभक्त, इमान्दार नेता तथा नेपालको संसद्ले एक अनुभवी, असल र लोकप्रिय सांसद तथा संसद्को उदाहरणीय नेता गुमाएको बताए ।

दुःखको घडीमा स्व. नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्दै अध्यक्ष तिमिल्सिनाले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

शोक वक्तव्यमा उनले लेखेका छन्, ‘संविधान सभाका अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १ः३० बजे भएको अप्रत्यासित निधनले मर्माहित भएको छु । २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधान सभामा अध्यक्षको रूपमा उहाँले खेल्नुभएको नेतृत्वदायी भूमिकाको मुलुकले सदा स्मरण गरिरहने छ । नेपालको शान्ति प्रक्रिया र संविधान सभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो । उहाँको सुझबुझपूर्ण ढंगले सबै पक्षसंग सहज संवादका माध्यमबाट सहमती, सहकार्य एंव एकता कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुकरणीय छ । उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी, असल र लोकप्रिय सांसद तथा संसद्को उदाहरणीय नेता गुमाएको छ । राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन, देशभक्त, इमान्दार नेता गुमाएको छ । दुःखको यस घडीमा स्वर्गीय नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement