अजिता मृत्यु प्रकरण: ट्रकमा पालैपालो बलात्कार, पैसामा कुरा नमिल्दा हत्या

अजिता मृत्यु प्रकरण: ट्रकमा पालैपालो बलात्कार, पैसामा कुरा नमिल्दा हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – हेटौंडा–११ की तेस्रो लिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्यामा संलग्न पाँच युवकलाई मंगलबार सार्वजनिक गरेको हो ।

यही माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपश्चात् पैसाका विषयमा विवाद भएपछि भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको हो । उनीहरुले ट्रकमा राखेर पालैपालो बलात्कार गरेका थिए ।

घटनामा संलग्न आरोपमा प्रहरीले हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्‍याङमा ७ हजार रूपैयाँमा सम्झौता गरी यौन सम्पर्क गरेका थिए । तर सम्पर्कपछि पैसाबारे विवाद क्रममा उनको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार उनको हत्या गरेर शव ट्रकमै हालेर क्याम्पाडाँडामा लगी फालेका थिए । अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । उनले मोबाइल आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न २ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखा, टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्त पक्राउ गरिएको मकवानपुरका एसपी राठौरले पत्रकार सम्मेलनमा बताए ।