काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले राज्यका हरेक बैठकमा बस्ने गरेकोप्रति प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रचण्डकी छोरी गंगा राज्यको कुन हैसियतमा बैठकमा बस्ने गरेको भन्दै प्रश्न गरेका छन् ।
उनले सोधे, ‘जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ? म प्रश्न गर्न चाहन्छु – हामीले कस्तो व्यवस्था गरेका छौं ? कुनै पूर्व प्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ? अनुमति विनाको उत्तरदायित्वले सबैभन्दा खतरा बढेको छ । गणतन्त्रलाई कहीँबाट खतरा छ भने ४–५ जना नेता र उनीहरूका बच्चाहरूबाट छ । जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ ।’
उनले ठूला भ्रष्टाचारको काण्ड अन्तिम टुंगोमा नपुगेकोप्रति पनि प्रश्न गरेका छन् ।
‘नेपालमा विदेशीको हस्तक्षेप इतिहासमै धेरै भइरहेको छ । यति कमजोर सरकार नेपालमा मैले यसअघि देख्या थिएन,’ सांसद सिंहले भने, ‘सरकार नेपालमा वैदेशिक हस्तक्षेपको निमन्त्रणकर्ता हो । सरकारको सहभागिता र सक्रियतामा नेपालमा जातीय र धार्मिक द्वन्द्व गराउन खोजिँदैछ ।’




प्रतिक्रिया