आज गंगा दशहरा

आज गंगा दशहरा


काठमाण्डु-जेठशुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व। गंगा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा यसको महत्व छ । भगीरथले अनेकौँ प्रयास गरी यही दिन गंगालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ । १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइँदै छ ।

वैदिककालमा आजकै तिथिमा भगीरथले भागिरथी गंगाको आगमण भएको विश्वास गरिन्छ । यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ ।

दशहरा ज्येष्ठ शुक्ल प्रतिपदामा शुरु भई दशमीमा पूरा हुन्छ । यसमध्ये दशमीको विशेष महत्व छ । सके दशैदिन स्नान गर्ने नसके दशमीका दिन स्नान गर्ने विधान छ। यस दिनको दान तथा उपवासको विशेष महत्त्व छ । यस दिन रसुवाको गोसाइँकुण्ड नुवाकोटको वेत्रावतीलगायत दोभान तथा त्रिवेणीमा श्रद्धालुको घुइँचो लाग्छ ।

गंगाको महत्वका विषयमा स्कन्द पुराणमा लेखिएको छ–‘जेष्ठ शुक्ल दशमीलाई संवत्सरमुखी मानिएको हुँदा यस दिन स्नान र दानको विशेष महत्व छ । यसमा स्नान र दान रूपात्मक व्रत हुन्छ । कुनै पनि नदी वा तलाउमा गएर अघ्र्य तथा तर्पण गर्नु विशेष फलदायी हुन्छ । यसो गर्नाले पहापातक बराबरका दश पापहरू छुट्दछन् । यदि ज्येष्ठ शुक्ल दशमीका दिन मंगलवार भयो र हस्ता नक्षत्र पनि प¥यो भने त्यो सम्पूर्ण पापको नाश हुन्छ ।’

वराह पुराणका अनुसार जेष्ठ शुक्ल दशमी बुधवारका दिन हस्त नक्षत्रमा गंगा नदी स्वर्गबाट पृथ्वीमा अवतीर्ण भएकी थिइन् जसले सम्पूर्ण पाप नाश गर्दछिन् । यसकारण यो दिनलाई दशहरा भनिएको हो । जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, हस्त नक्षत्र, गर, आनन्द, व्यतिपात, कन्या राशिका चन्द्र, वृष राशिका सूर्ययुक्त दस योगको मिलन भएका दिनमा स्नान गर्नाले मानिसका सबै पाप पखालिन्छन् ।

स्कन्द पुराणका अनुसार जो मानिसले दशहराका दिन गंगाको पानीमा उभिएर स्कन्द पुराणमा वणिर्त गंगा दशहरा स्तोत्र दशपटक पढ्छ, उसका सबै कष्ट नाश हुन्छन् । दरिद्रता एवं असमर्थता भएकाहरूले समेत सम्पूर्ण सामग्री तयार पारेर विधिपूर्वक गरिने गंगापूजाकै फल प्राप्त गर्दछन् ।