वीरगञ्ज – प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले शान्ती सुरक्षामा प्रहरी एक्लैले केही गर्न नसकिने बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रमुख बनेर आएको नवौं दिन शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले गैरकानुनी गतिविधि गर्ने मानिसहरु प्रहरीसँग खुशी नहुने बताइन् ।
‘गैरकानुनी गतिविधि गर्ने मानिसहरु प्रहरी संगठनसँग खुशी हुँदैनन् । सहयोग पनि गर्दैनन्,’ उनले भनिन्, ‘प्रहरी एक्लैले केही गर्न सक्दैन, स्थानीय तह र नागरिकसँग मिलेर समाजमा शान्ति सुव्यवस्था कायम गर्ने हो । थुनुवा कक्षा भरीभराउ हैन खाली रहोस् भन्ने हाम्रो चाहना हो ।’
उनले सेवजाग्राहीहरुलाई एक्लै प्रहरी कार्यालयसम्म आउने वातावरण निर्माण गर्ने बताएकी छन् । उनले आफू आएको ९ ओं दिनसम्म पनि यहाँका स्थानीय कोही नकोही साथमा लिएर आउने गरेको अनुभव सुनाउँदै अबका दिनमा उनीहरुलाई एक्लै प्रहरी कार्यालय आउन सक्ने वातावरण निर्माण गर्ने बताएकी हुन् ।
‘जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख भएर म आएको ९ दिन भयो, यहाँ कुनैपनि सेवाग्राही एक्लै सेवा लिन नआउने रहेछन, कसै न कसैलाई साथमा लिएर मात्रै आउनुहुन्छ,’ एसपी पन्तले भनिन्, ‘किन त्यस्तो भएको हो बुझेर उहाँहरुलाई एक्लै आउन सक्ने वातावरण बनाउँछु । उहाँहरुले सोचेको जस्तो प्रहरी संगठन छैन भन्ने विश्वास दिलाउँछु ।’
उनले खुल्ला सीमाका कारण पर्साको सुरक्षा व्यवस्थमा मुख्य चुनौती रहेको बताइन् । ‘ सामाजिक र भौगोलिक बनौट अनुसार चुनौती फरक–फरक हुन्छ । प्रहरीले चुनौतीसँग खेल्ने नै हो । पर्सामा खुल्ला सीमा मुख्य चुनौती हो,’ एसपी पन्तले भनिन्, ‘सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि भन्सार र सशस्त्र प्रहरीसँग मिलेर काम गछौं, नाकाका युनिटलाई सशक्त बनाउँछौं ।’




प्रतिक्रिया