काठमाडौं – धनुषा बम विस्फोटमा सहकर्मी गुमाएपछि नेपाल प्रहरीको इन्टरपोल शाखामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) गङ्गा पन्तले मृत्युमा आफनो सफलता खोज्ने कायरहरुलाई ढिलो चाँडो कठघरमा ल्याउनुपर्ने बताएकी छन् ।
शनिबार बिहान एक स्टटाटस पोष्ट गर्दै एसपी पन्तले कायरहरुलाई ढिलो चाँडो कठघरमा ल्याएर नै सहादत पाउने सहकर्मीको आत्मालाई शान्ति दिनु पर्ने बताएकी हुन् । भावुक स्टाटस लेख्दै एसपी पन्तले प्रहरीहरुको पीडा पनि पोखेकी छन् ।
शुक्रबार राती धनुषाको क्षिरेश्वरनाथमा भएको बम बिस्फोटमा घाइते भई बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमीरकुमार दाहालको मृत्यु भएको थियो ।
उनले लेखेकी छन्, ‘प्रहरी सेवा प्रवेश गर्दा नै हामीले देश र जनताको निम्ति आवश्यक पर्दा जिवन त्याग्न तयार रहने प्रण गरेको हुन्छौं । तर पनि मृत्यु सबैलाई दुख्छ र दुख्छ हामीलाई पनि । झन कर्तब्य पालना गर्दागर्दै कसैको निशानामा परि कोहिपनि प्रहरीले जिवन गुमाउनु पर्दाको पीडा अक्षरबाट ब्यक्त गर्न सकिदैन । यद्धपि प्रहरीलाई आक्रोशित हुने छुट हुँदैन, संयम गुमाउने छुट हुँदैन र सम्हालिएर कर्तब्यमा अगाडि बढ्नु नै पर्छ । कसैको मृत्युमा आफनो सफलता खोज्ने कायरहरुलाई ढिलो चाँडो कठघरमा ल्याएर नै सहादत पाउने सहकर्मीको आत्मालाई शान्ति दिनु पर्छ । धनुषामा भएको विस्फोटमा परेर जीवन गुमाउनु भएका प्रहरी निरीक्षक अमीर दाहाल एवं अन्य मृतकहरुको सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना अनि घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको शुभकामना ।’
गएराती क्षिरेश्वरनाथ ५ धनुषाका स्थानीय ४६ वर्षका राजेश साहको घरमा अज्ञात समूहले राखेको बम बिस्फोट हुँदा साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार गएराति मध्यरातमा बम विस्फोट भएको हो ।
राति करिब पौने १२ बजे राजेशले शौचालय जाने क्रममा घरको गेटमा बम राखेको झोला झुन्डाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु विप्लव समूह निकट रहेको बताइएको छ ।
गृहमन्त्र रामबहादुर थापा बादलले अपराधिलाई पक्राउ परेर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




प्रतिक्रिया