अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । परिवार कल्याण महाशाखाका अनुसार हालसम्म १३ लाख महिलाले मात्रै सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसेन तिंकरीले ४२ प्रतिशत महिलाले मात्र गर्भपतन सेवाका बारेमा जानकारी पाएको बताए ।

उनले भने, ‘सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन ग्रामीण स्तरसम्म सेवा विस्तार गर्न आवश्यक छ । सरकारले सबै सरकारी स्वास्थ्य सेवाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवाप्रदान गर्दै आएको छ ।’

हाल देशभर गर्भपतन सेवा प्रदान गर्न ४ हजार रुपैयाँको हाराहारीमा चिकित्सक नर्स तथा अनमीलाई तालिम प्रदान गरिएको छ । यस्तै, १ हजार ५ सय स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवाप्रवाह हुँदै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

नेपालमा ३ लाख २३ हजार जना महिलाले प्रतिवर्ष गर्भपतन गराउने गरेका छन् । नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ । ४२ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।