गठबन्धनका शीर्ष नेताबाट राज्य शक्तिको दुरुपयोग, प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न माग गर्दै उजुरी

गठबन्धनका शीर्ष नेताबाट राज्य शक्तिको दुरुपयोग, प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न माग गर्दै उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत केन्द्रिय नेताहरु पनि आफ्ना उम्मेदवार जिताउन निर्वाचन क्षेत्रतर्फ लाग्दा राज्यशक्तिको चरम दुरुपयोग भएको पाइएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शिर्ष नेताहरु दलबलका साथ निर्वाचन क्षेत्रहरुमा पुगिरहेका छन् ।

चुनावी प्रचारका क्रममा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सेनाको हेलिकोप्टरमा तनहुँबाट बारा पुगे । बाराबाट पनि हेलिकोप्टर नै चढेर उनीहरु चितवन पुगे । चुनावी प्रचारप्रसारमा यसरी सेनाको हेलिकोप्टर प्रयोग गर्नु राज्यस्रोतको दुरुपयोग हो ।

निर्वाचन आचार संहिता अनुसार पनि सरकारी खर्चमा हेलिकोप्टर चढेर चुनाव प्रचारमा हिँड्न पाईदैन भने यसपटक कुनै उम्मेदवारले पनि हेलिकोप्टर प्रयागको अनुमति समेत पाएका छैनन् ।

आचारसंहिता अनुसार राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने हुन्छ । आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकोप्टर सेवा प्रयोग गर्न सक्छन् । प्रधानमन्त्री तथा मन्त्रीहरुले चुनावी प्रचारको लागि हेलिकप्टर प्रयोग गर्न नपाउने निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले जानकारी दिए।

यसबारेमा तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले पनि देशकै प्रधानमन्त्रीले निर्वाचन आचार संहिताको उल्लंघन गर्दै अरु ३ पूर्वप्रधानमन्त्री बोकेर हिँडेको बताउदै निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएका छन्।

उनले भनेका छन्,’देशकै प्रधानमन्त्री निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै अरु ३ जना पूर्वप्रधानमन्त्री बोकेर मुख्यमंत्री र संघीय मंत्रीको पद बाँड्दै हिंड्नु भएको छ । अवैध धन छरेर सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भइसकेको छ । त्रास देखाउने, धम्की दिने क्रम बढ्दो छ । निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व पुरा गरोस् । यस्तै, विकृत राजनीति विरुद्ध हाम्रो लडाईं हो । तर यसपटक तनहुँका विवेकशील जनताको सामुहिक मत सामु कसैको केही लाग्ने छैन । आमूल सुधार र परिवर्तनको घण्टी बज्छ बज्छ ।’

आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री दाहालले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका हुन्।

‘यसरी गठबन्धनको उम्मेदवारको प्रचार प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बहानामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण गराउन चाहन्छौं ‘, आयोगसमक्ष पेश गरिएको उजुरीमा लेखिएको छ ।