गठबन्धनभित्र फुटको संकेत : भित्रभित्रै दुई वटा विकल्पमा छलफल

गठबन्धनभित्र फुटको संकेत : भित्रभित्रै दुई वटा विकल्पमा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ पाँच दलीय गठबन्धनभित्र फुटको संकेत देखिएको छ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै पाँच दलीय गठबन्धनको भविष्य संकटमा पर्न लागेको हो । यता भित्रभित्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरू गठबन्धनको विकल्प खोज्ने रणनीति बनाउनमा जुटेका छन् ।

स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनप्रति जसपा र एकीकृत समाजवादीले असन्तुष्टि जनाएसँगै नेकपा एमालेले गठबन्धन तोड्न रणनीति बनाइरहेको छ । त्यसका लागि एमाले अध्यक्ष पछिल्लो समय विभिन्न विकल्पमा छलफल गरिरहेका छन् । यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मात्रै सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन ।

आज आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले कतिपय पार्टीमा विभाजनको खतरा रहेको पनि दावी गरेका हुन् । ‘गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको छ । कतिपय पार्टीहरूमा विभाजनको खतरा पनि देखिरहेको छ । यो बेलामा हामीले ठिक ढंगले भूमिका निर्वाह गर्नुपर्छ । हामीलाई अवसर र चुनौती पनि आउन सक्छ । ’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

प्रचण्डको भनाई एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकाप्रति केन्द्रीत रहेको एक माओवादी नेताले बताए । ओलीले गठबन्धन तोड्नविभिन्न कार्ड खेल्न थालेका छन् । उनले देउवा नेतृत्वको सरकारलाई निरन्तरता दिने र आफुले त्यसलाई समर्थन गर्ने पहिलो रणनीति बनाएका छन् । त्यसमा माओवादी र समाजवादीलाई बाहिर राख्नुपर्ने उनको सर्त छ । त्यसपछी आउंदो प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपा र लोसपासंग मिलेर निर्वाचन लड्ने उनको योजना छ ।

अहिले यादवलाई ओलीले त्यसै वारेमा सहमत गराइरहेका छन् । स्थानीय तहको निर्वाचन सकिएलगत्तै ओलीले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पटक पटक भेटवार्ता गरेका थिए । अध्यक्ष ओली र यादवबीच भएको उक्त भेटवार्ताको विषय बाहिर आएको छैन्। तर, यादव समेत गठबन्धनको विकल्प खोज्नुपर्नेमा पुगेको स्रोतको दावी छ ।

यदी त्यसो नभएको खण्डमा आफ्नै नेतृत्वमा सरकार बनाउने समेत ओलीको योजना छ । त्यसका लागि उनले समाजवादीको बहुमत हिस्सलाई एमालेमा विलय गराउने तयारी सुरु गरेका छन् ।

जसपा र लोकतान्त्रीक समाजवादी पार्टीका ३४ सिट र नेकपा एमालेका ९६सिट मिलाएर १३० सिट हुन्छ । सरकार बनाउनको लागि १३६ सिट आवश्यक छ । त्यसमा साना पार्टी र समाजवादीले समर्थन गरे देउवा सरकारको विकल्प खोज्न सहज हुन्छ । स्रोतका अनुसार नेकपा एसका केही नेताहरुको नेकपा एमालेमा प्रवेश गर्ने तयारी रहेको छ । त्यस कारण पनि आजको बैठकमा प्रचण्डले गठबन्धनभित्र नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको अभिव्यक्ति दिएको आँकलन गरिएको छ ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै पनि हालतमा गठबन्धन फुटाउने रणनीतिमा लागेका छन् । स्थानीय तहको निर्वाचनमा पनि एमालेले केही साना पार्टीहरुसंग चुनावी तालमेल गर्नुले पनि ओली एकता र चुनावी तालमेलको पक्षमा नै रहको पुष्टि हुन्छ ।अर्कोतिर २०७४ सालको चुनावमा स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो दल बनेको नेकपा एमाले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कै कारण नेकपा एमाले दोस्रो स्थानमा खुम्चिन पुग्यो । देशैभरका ६ महानगरपालिका मध्ये नेकपा एमाले एउटामा पनि विजयी हुन सकेन ।

त्यसकारण पनि प्रदेश र संघको निर्वाचन अघि नै ओली गठबन्धन फुटाउने रणनीतिमा लागेका छन् । यसभन्दा अघि मोरङमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पाँच दलीय सत्ता गठबन्धन अब धेरै नटिक्ने दाबी गरेका थिए । उनले आगामी असार १७ गते नै गठबन्धनको आयु अन्त्य हुने जिकिरसमेत गरेका थिए ।