काठमाण्डु– मन्त्रिपरिषद विस्तार गर्ने वारेमा छलफल गर्न पांच दलीय गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वैठक सोमबार बिहान ९ बजेका लागी बोलाइएको छ । बैठकमा पांच पार्टीका दुई दुई जना नेताहरुलाई आमन्त्रण गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार समेत छलफल भएको थियो । आइतबार भएको बैठकमा सरकार विस्तार र गठबन्धनलाई थप मजबुत बनाउने विषयमा छलफल भएपनि कुनै निष्कर्श भने निस्कन सकेन ।
गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका तीन, माओवादी केन्द्रका दुई मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन्।
आजको बैठकमा नेताहरुले मन्त्रालयको भागवण्डामा सहमती गरेपनि त्यसले औपचारिकता भने सोमबार पाउनेछ । नेताहरुबीच कांग्रेसले प्रधानमन्त्रीसहित सात र अरु दलले ६, ६ मन्त्रालय लिने सहमती भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री देउवाले आफुले उपप्रधानमन्त्री नबनाउने अडान राखेका छन् । यससंगै जसपा अध्यक्ष उपेन्द्र यादव र इस्तियाक राई सरकारमा नजाने भएका छन् । राईले भौतिक योजना मन्त्रालय विना सरकारमा नजाने भएका हुन । जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदिप यादव र महेन्द्र यादवलगायत मन्त्री बन्ने भएका छन्
आइतबारको बैठकमा नेता नेपालले आफ्नो दललाई परराष्ट्र,पर्यटन र उद्योगसहितका महत्वपूर्ण मन्त्रालय दिनुपर्ने माग राखेका छन् । नेताहरुबीच कानुन मन्त्रालयमा गोविन्द बन्दीलाई ल्याउने सहमती समेत भएको स्रोतको दावी छ ।
कांग्रेसबाट दिलेन्द्र बडु, उमाकान्त चौधरी र पुष्पा भुषाल मन्त्री बन्ने लगभग निश्चित भएको छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट मुकुन्द्र न्यौपाने,प्रेम आले, किसान श्रेष्ठ,वेदुराम भुषाल,रामकुमारी झांक्रि र विरोध खतिवडा मन्त्री बन्ने सम्भावना छ । माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, सुदन किराती, शशि श्रेष्ठ र हरि चौधरी मन्त्री बन्ने सम्भावना छ ।




प्रतिक्रिया