बझाङ – बझाङ जिल्लाको छविसपाथीभेरा गाँउपालिकाको कार्यालयमा राखिएको बाल्टिन बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
मंगलबार गाँउपालिकाको मुल गेटमा अज्ञात समुहले बाल्टिन बम राखेको फेला परेपछि जिल्लाबाट नेपाली सेना र नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएका थिए । सोमबार राती नै कुनै अज्ञात समुहले गाँउपालिकाको कार्यालयको मुलगेटमा बम राखेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ ।
बाल्टिन बमको वरिपरी सेतो कागजमा पुलिस दमन बन्द गर, भ्रष्ट गाँउपालिकाका अध्यक्ष अक्कल धामी मुर्दाबाद, ६२० भ्रष्टहरु मुर्दाबाद लेखिएको कागज फेला परेको जनाइएको छ ।
गाँउपालिकाको बाहिर सिसि क्यामेरा जडान गरिएको भएपनि उक्त सिसि क्यामेरा समेत फालेको प्रहरीले जनाएको छ । उक्त बम नेत्र विक्रम चन्द विप्लब समुहले राखेको हुन सक्ने आशंका रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।




प्रतिक्रिया