गौरमा झडप हुँदा १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

गौरमा झडप हुँदा १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटको गौर नगरपालिका–६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समुदायबिच विवाद हुँदा झडप भएको छ ।

फागुन ७ गते राति ९:५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो ।

राति नै ढुङ्गा हानाहान हुँदा ६ जना घाइते भएका थिए भने आज बिहान ९:१५ बजे पुन: सोही विषयलाई लिएर दुवै पक्षका करीब ५०० को संख्यामा भेला भएका मानिसहरूबिच दोहोरो झडप भएको छ । स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको थियो ।

भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १२ राउण्ड ब्ल्यांक फायर (हवाई फायर) र ४० सेल अश्रुग्यास प्रहार गरेका छन् । हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ ।

झडपमा परी थप ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय २७ वर्षीय रामप्रवेश साह, १४ वर्षीय महम्दिन मिया, २० वर्षीय शेख सही आलम मिया, १७ वर्षीय शेख सहिब र ४२ वर्षीय महम्मद खुर्सेद रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ड्युटीमा खटिएका प्रहरी जवान राजेश ठाकुरसहित २ जना सुरक्षाकर्मी समेत घाइते भएका थिए । सामान्य उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन् । घटनालाई साम्य पार्न र विवाद सुल्झाउन शुक्रबार दिउँसो ३ बजेदेखि जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षका प्रतिनिधिहरूबिच वार्ता सुरु भएको छ । स्थानीय प्रशासनले संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।