सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा भिजाइँदै

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा भिजाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु-सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा राखिँदैछ । आजको दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ ।

गौराको पहिलो दिन बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ । गहत, गुराउस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन छ । केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भव्यताका साथ मनाउन थालिएको छ ।

पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको सुरुवात गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिंगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।

शनिबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ। सोही दिन बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचीन महत्त्वसँग जोडिएका धार्मिक गाथा, फाग, धमारी चाचरी, सगुना,देउडा लगायातका गीत÷गाथा गाउनुका साथै भारी खेल खेलेर सुदूरबासी रमाउने गर्दछन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गौराको रौनक अझ बढी हुने गर्छ । बिरुडा भिजाइसकेपछि गणेश कलश स्थापना गरी आफ्नो कूल देवताको पूजा गर्ने तथा फाग गाएर गौरा पर्व मनाउने गरेको गौरामै विद्यावारिधि गरेका बासुदेव जोशीले बताए ।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनको रूपमा लिइन्छ। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा ल्याइन्छ ।

गौराको पूजाअर्चनाले विशेषगरी श्रीमान् तथा घरपरिवारका सदस्यहरू निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धिको लागि व्रत बस्ने चलन छ ।

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरूका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गीनी शक्तिस्वरूपा पार्वती (गौरी)लाई गौरा देवीको रूपमा पूजाअर्चना गरिँदै आइरहेको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो ।