प्रधानमन्त्री पद नपाएपछि प्रचण्ड छुट्टिएर गएः श्रममन्त्री चौधरी

प्रधानमन्त्री पद नपाएपछि प्रचण्ड छुट्टिएर गएः श्रममन्त्री चौधरी


काठमाण्डु – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जनतामा भ्रम फैलाउने काम गरिरहेको टिप्पणी गरेका छन् ।

धनगढीमा सोमबार आयोजित प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा बोल्दै मन्त्री चौधरीले सो बताएका हुन् । उनले प्रचण्ड पार्टी एकतापछिको उद्धेश्य विपरित आफ्नो स्वार्थमा लागेको बताए ।

‘उहाँले २ पटक प्रधामन्त्री हुँदा पनि जनयुद्धकालका घाईते, जनमुक्ति सेना र शहिद परिवारका मुद्दा हल गर्न सक्नुभएन । अहिले सरकारले द्धन्दकालका घाईते, अपांग र शहिद परिवारलाई आवश्यक सहयोग गर्न प्रकृया अगाडि बढाएको छ,’ उनले भने ।

मन्त्री चौधरीले प्रधानमन्त्री पद र पहिलो अध्यक्ष बन्ने लक्ष्य पुरा नभएपछि प्रचण्ड पार्टीबाट चोइटिएर गएको बताए । मन्त्री चौधरीले १० वर्षे युद्वकालमा प्रचण्डसँग हिँडेको स्मरण गर्दै चोइटिएर गएका प्रचण्ड लाल गद्धार भएको आरोपसमेत लगाए ।

उनले सूर्य चुनाव चिन्हमा प्रचण्ड–नेपाल पक्षले दाबी गर्न नमिल्ने बताए । ‘प्रचण्डले कहिल्यै सूर्यमा भोट मागेर जितेनन्, उनले सूर्य चिन्ह हाम्रो भन्न सुहाउँछ ?,’ उनले प्रश्न गरे ।